मदिराले मातेका मल्लले गरे गाउँपालिकाको गाडी तोडफोड



हुम्ला । मदिरा सेवन गरेर मातिएका एकजनाले हुम्लाको ताजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किंग गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरिएको छ ।

छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका ४ का लक्ष्मण मल्लले मदिराको मातमा शनिबार अपराह्न गाडी तोडफोड गरेको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिइन् । मदिराले लठ्ठ  मल्लले कर्णाली प्रदेश ००१ झ ००९७ नम्बरको गाडी तोडफोड गरेको बताइएको छ । गाउँपालिका वडा नं २ महिला खोलामा पार्किङ गरेर राखिएको गाडी मदिराले मातिएका मल्लले ढुङ्गा प्रहार गरी सिसासहित अन्य भाग फुटाएका हुन् ।

मल्लसँग गाउँपालिकाको कुनै रीसइबी र चिनजानसमेत नभएको तर गाउँपालिका नजिकैको सडकमा पार्किङ गरिएका ठाउँमा एक्कासि आएर तोडफोड गरेको उपाध्यक्ष बुढाले बताइन् । मदिराका मातमा रहेका मल्लले छप्रेला प्रहरीमा रहेका दुई कुर्सीसमेत भाँचेको जानकारी प्राप्त भएको छ ।  अभियुक्त मल्ललाई छप्रेला र मैला प्रहरीचौकीले नियन्त्रणमा लिएर सरदुकाम सिमकोट ल्याउँदै गरेको उपाध्यक्ष बुढाले जानकारी दिइन् ।