

आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी
मन्त्रीहरुको बारेमा टुङ्गो लगाउन माओवादी केन्द्र र जसपा आन्तरिक छलफलमा

काठमाडौं – प्रधानन्त्री शेरबहादुर देउवाले आज (आइतबार) साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको नाम टुङ्गो लगाएमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
सरकारमा जाने मन्त्रीहरुको बारेमा टुङ्गो लगाउन माओवादी केन्द्र र जसपा आन्तरिक छलफलमा जुटेका छन् । माओवादी केन्द्रले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाएको छ ।
बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको बारेमा छलफल हुने नेता देवेन्द्र पौडेलले बताएका छन् । सरकारमा जाने मन्त्रीको बारेमा जसपाले पनि पछिल्ला केही दिनदेखि औपचारिक तथा अनौपचारिक छलफल चलाउँदै आएको छ ।
मन्त्रिपरिषद् विस्तारबारे शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो । गठबन्धन दलले सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउन नसक्दा तीन साता बितिसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । जसका कारण सरकारको काम कारवाहीमै प्रभाव परिरहेको छ । लामो समय मन्त्रिमण्डल विस्तार नभएपछि प्रधानमन्त्रीप्रति नै प्रश्न उठ्न थालेको छ ।