

फुटबल खेलेर आराम गर्ने क्रममा बेहोस भएका एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष भुजेलकाे निधन

सोल – दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढलेका थिए । बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।
उपचारारत उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो । उनी हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित भएका थिए । उनी प्रवासी नेपाली सङ्घ दक्षिण कोरियाका केन्द्रीय सदस्य समेत हुन् ।
भुजेल इ सेभेन प्रवेशाज्ञाअन्तर्गत विगत १२ वर्षदेखि कोरियामा बस्दै आएका थिए । हाल शवलाई प्रहरीले नजिकैको अस्पतालमा राखेको छ। उनीकी श्रीमती र छोराछोरी हाल नेपालमा छन् ।