

महाराष्ट्रको बाढी–पहिरोः ज्यान गुमाउनेको संख्या १२९ पुग्यो

नयाँदिल्ली – भारतको महाराष्ट्रमा केही दिनयताको लगातार मुसलधारे बर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२९ पुगेको छ ।
कयौं मानिसहरु पहिरोमा फसिरहेका छन् । पहिरोमा फसिरहेकाहरुको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको उद्धारका लागि हेलिकप्टरको सहयोग लिइएको स्थानीय अधिकारीले जनाएका छन् । पहिरोका कारण रेल सेवा प्रभावित भएको छ ।
रेलवेको पुल डुबेका कारण कम्तीमा ६ हजार मानिस अलपत्र परेको बीबीसीले जनाएको छ । पछिल्लो केही दिनयता महाराष्ट्रको कोकण क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसका कारण विभिन्न जिल्लामा बाढी र पहिरो जाँदा जनधनको क्षति भएको छ । लगातारको पानीका कारण विशेष गरी ६ वटा जिल्लाको जनजीवन बढी प्रभावित भएका छन् ।