

आज चीनबाट थप आठ लाख डोज खोप काठमाडाैं आइपुग्दै

काठमाडौं – चीनबाट कोरोना भाइरसविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप आज (आइतबार) दिउँसो नेपाल आइपुग्दै छ ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज आठ लाख डोज खोप लिएर आज दिउँसो काठमाडौं आइपुग्ने व्यवस्थापन महाशाखा आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए ।
यसअघि साउन ७ गते नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याएकोे थियो । चीनबाट अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले चीनसँग ४० लाख डोज भेरोसेल खोप खरीद गरेको छ । सोमध्ये असार २५ र साउन ७ गते आठ आठ लाख डोज गरी १६ लाख डोज खोप नेपाल आइसकेको छ । आजसहित २४ लाख खोप नेपाल आइपुग्ने छ । बाँकी आठ लाख डोज खोप लिन विमान पुनः बेइजिङ जाने जनाइएको छ ।
यसअघि चीनले १८ लाख खोप अनुदानमा दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूरत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताएकी थिइन् ।