

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपति जुमाको समर्थनमा भएको प्रदर्शनमा ४५ जनाको मृत्यु

काठमाडौं – दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकब जुमाको समर्थनमा भएको प्रदर्शनका क्रममा ४५ जनाको मृत्यु भएको छ । मारिनेमा १० जना लुटपाटमा संलग्नहरु रहेका छन् ।
गत बिहीबारदेखि जारी प्रदर्शनले हिजो हिंसात्मक रुप लिएपछि ४५ जनाको मृत्यु भएको हो । प्रदर्शनकाबीच शहरका बिभिन्न शपिङ मलहरुमा लुटपाट हुन थालेपछि हालै परिचालन गरिएको सेना र प्रहरीले प्रदर्शनकारी र लुटेरा समुहमाथि गोली प्रहार गरेको बुझिएको छ ।
घटनामा सय भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकै क्रममा ८ सय जनालाई हिरासतमा लिइएको छ । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका हजारौं प्रदर्शनकारीहरुले यातायात सेवा र ब्यापार ब्यबसाय ठप्प पारी प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनकारीहरुले पूर्व राष्ट्रपति जुमाका रिहाइ नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएको छ । यसैबीच, राष्ट्रपति सिरिल रामाफोसाले दक्षिण अफ्रिकामा सन् १९९० पछि भएको ठूलो हिंसात्मक घटनाको रुपमा ब्याख्या गर्दै स्थिति यस्तै रहे देशमा आपतकाल लागु गरिने चेतावनी दिएका छन् ।
पूर्व राष्ट्रपति जुमाले आफ्नो निवास नजिकै रहेको कारागारमा पुगी प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । भ्रष्टाचारको आरोप लागेपछि जुमालाई अदालतमा उपस्थित हुन आदेश दिइएको थियो । तर आदलतको आदेश नमानेपछि उनलाई अवहेलना मुद्दामा १५ महिनाको जेल सजाय सुनाइएको थियो । त्यसपछि जुमा आफैं प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेका हुन् । एजेन्सी