कांग्रेस सभापति देउवा पाँचौंपटक प्रधानमन्त्री, चार सदस्यीय मन्त्रीपरिषद् विस्तार



काठमाडौं । शेरबहादुर देउवाले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार साँझ शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। यससँगै कांग्रेस सभापति देउवा पाँचौंपटक प्रधानमन्त्री बनेका छन् ।

सपथ कार्यक्रममा उपराष्ट्रपति, सभामुख, प्रधानन्यायधीश लगायतको उपस्थिति रहेको थियो। गत जेठ ७ गते देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी गरेता पनि राष्ट्रपतिले अस्वीकार गरिदिएकी थिइन्। तर, सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। साँझ ६ बजे भनिएको सपथ ग्रहण समारोह ८ बजेपछि मात्र सुरु भएको थियो।

प्रधानमन्त्री देउवाले आफूले सपथ लिएलगत्तै चार सदस्यीय मन्त्रीपरिषद् विस्तार गरेका थिए । र नवनियुक्त मन्त्रीहरुलाई पनि सपथ खुवाएका थिए ।

देउवाले तत्कालका लागि नेपाली कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २ सदस्यीय मन्त्रीपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाले कांग्रेसका बालकृष्ण खाँणलाई गृह मन्त्रालय र ज्ञानेन्द्र कार्कीलाई कानुनका साथै माओवादीका जनार्दन शर्मालाई अर्थ मन्त्रालय र पम्फा भुषाललाई उर्जा तथा सिञ्चाई मन्त्रालयको जिम्मेवारी दिएका छन् ।