

उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना सङ्क्रमण

जनकपुर । उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुईजना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पचास वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ ।
यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब सङ्कलन गरी जाँच गरेकामा एक जनाको पोजिटिभ देखिएको हो ।
न्यायाधीशमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ देखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।
उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एसोसिएशनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ । प्रदेश २ मा न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको यो दोस्रो केस हो ।
यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।