कालीगण्डकी–तिनाउ डाइभर्सनको तिनाउबासीद्वारा नै विरोध, चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीबाट हट्न सक्ने !



रुपन्देही । रूपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचित पूर्व सांसद एवं वर्तमान अर्थमन्त्रीले कालीगण्डकी–तिनाउ डाइभर्सनको कार्यालय उद्घाटन गरेसँगै तिनाउका बासिन्दा आन्दोलित बनेका छन् ।

सरकारले प्राकृतिक स्रोत र सम्पदामाथि नै अतिक्रमण गरेको भन्दै उनीहरुले योजना बनेमा तिनाउ खोला वरपरका स्थानीयले आफूहरु खतरामा पर्ने भएकोले विरोध गरेका हुन् ।

अहिले पनि बुटवल र आसपासका बासिन्दाले पिउने पानीको समस्या भोग्नुपरिरहेको भन्दै उनीहरुले आयोजना बनेको अवस्थामा खेतबारीमा पनि सिंचाईको समस्या हुने दाबी गरेका छन् ।

स्थानीय बासिन्दाले कालीगण्डकी डाइभर्सन विष्णु पौडेलको चुनावी नारा भएको आरोप लगाउँदै दशकौंदेखि चल्दै आएको बाटो सिद्धबाबा क्षेत्रको हविगतले नै बताउने बताए । अहिलेसम्म पनि पिउने पानी व्यवस्थित नभएको र सुकुम्बासी समस्या जस्ताको तस्तै रहेको बताउँदै पौडेलप्रति रोष प्रकट गरेका छन् ।

उनीहरुले मन्त्री पौडेलले अर्थमन्त्रीको पदसँग साँठगाँठ गरेर बुटबललाई राजधानी बनाउने यसअघिको एजेण्डा पनि छोडेको र जनतालाई फेरि एकपटक झुक्याउनका लागि चुनावी एजेण्डाको रुपमा आयोजना अघि सारेको दाबी गरे।

त्यस्तै कालीगण्डकी डाइभर्सन बनेको खण्डमा पर्यावरण विज्ञहरुले चितवन राष्ट्रिय निकुञ्जमा पानीको बहाव कम भएर जलचरहरु मासिने र विश्व सम्पदा सूचीबाट पनि हट्न सक्ने आशंका व्यक्त गरेका छन् ।

त्यस्तै कालीगण्डकीको पानी डाइभर्ट गरेर तिनाउमा मिसाएमा संस्कृतिको धरोहरको रुपमा रहेको देवघाटमा पनि पानीको अभाव हुन सक्ने आँकलन त्यहाँका बासिन्दाले गरेका छन्।