वर्षाको बितण्डामा बन्दीपुरः पहिरोमा परी २ को मृत्यु, तीन घाइते

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए।

सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन्।

पहिरोका कारण चार घर जोखिममा रहेको छ। पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको छ।

पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले जानकारी दिइन्। घटनास्थल जाने बाटोहरु पहिरोले अवरुद्ध भएका छन्। अहिले जनप्रतिनिधिहरु हिँडेर घटनास्थल जाँदै गरेको उपप्रमुख गुरुङले बताइन्।

त्यस्तै वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको पनि जनाइएको छ ।

विगत केहीदिनदेखि परेको अविरल वर्षाका कारण छाब्दी स्थित पक्की पुल पनि बगाएको जनाइएको छ भने दक्षिणी तनहुँको ऋषिङ गाउँपालिकामा बनेको कालीगण्डकीको पक्की पुलको तनहुँपट्टीको भागको फिलिङ वाल बगाएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *