

अमिताभले दिए आफ्नो कोरोना रिपोर्ट ‘नेगेटिभ’ नआएको जानकारी

मुम्बई । बलिउड महानायक अमिताभ बच्चनले सञ्चारमाध्यममा आए जस्तो आफ्नो कोरोना रिपोर्ट नेगेटिभ नआएको बताएका छन् ।
विभिन्न सञ्चारमाध्यममा अमिताभ बच्चनको कोरोना भाईरसको पहिलो रिपोर्ट नेगेटिभ आएको र अब लगत्तै २ वटा परिक्षण गरिने तयारी गरिरहेको समाचार प्रकाशित भएको थियो ।
ती समाचारहरु सञ्चारमाध्यममा आए पछि अमिताभले बिहीबार साँझ ट्वीट गर्दै उक्त समाचार झुठो भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘यो खबर गलत, गैरजिम्मेवार र गम्भीर झुठ हो ।’ उनको यस ट्वीटबाट उनी खतरामुक्त नभइसकेको थाहा हुन आएको छ । उनमा कोरोना पोजेटिभ देखिइरहेको भएता पनि उनको स्वास्थ्यस्थिति भने सुधारात्मक रहेको पुष्टी भएको छ ।
सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यमका समाचारप्रति तुरुन्त प्रतिक्रिया दिएको हुनाले उनी खतरामुक्त रहेको अनुमान लगाउन सकिन्छ ।