भदौमा पनि कांग्रेस महाधिवेशन कठिन



काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन्। तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन।

महाधिवेशनका विषयमा आशंका बढ्दै गएपछि सभापति देउवाले बुधबार विज्ञप्ति नै जारी गरेर भदौमै महाधिवेशन गर्ने दोहोर्‍याएका छन्। ‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु- २०७८ साल भदौ महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिबद्ध छु,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषयमात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने मैले राम्ररी बुझेको छु।’

पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउन खोजिएको भन्दै देउवाले असन्तुष्टि जनाएका छन्। ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्नु हुँदैन। बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्य मिलेर सम्पन्न गर्ने कार्य हो,’ देउवाले भनेका छन्, ‘यसका लागि सबै जिम्मेवार हुनुपर्छ।’ असार र साउन दुई महिनाभित्र महाधिवेशनका लागि सबै तयारी गर्नुपर्ने भन्दै उनले महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमै गरिने जनाएका छन्।

तर महाधिवेशनको तयारीमा जुट्नुपर्ने पार्टीका शीर्ष नेताहरू नै भदौमा महाधिवेशन गर्न नसकिने जनाउँदै विकल्प खोज्न अनौपचारिक छलफलमा जुटेका छन्। महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता विवाद टुंगो लगाउन लाग्नुपर्ने नेताहरू नै त्यसमै अड्को थापिरहेका छन्। जसले गर्दा बारा, बर्दिया, सप्तरी, भोजपुर, सिन्धुपाल्चोकसहितका कतिपय जिल्लामा अझै क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अघि बढ्न सकेको छैन। नागरिक दैनिक