

पछिल्लो दिनमा ग्रामीण भेगका यी १० जिल्लामा बढ्यो कोरोना ह्वात्तै

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी दिँदै अब गाउँबाट सहरमा फैलने त्रास सिर्जना भएको बताए ।
अझै पनि ४६ भन्दा बढी जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको तथा तीमध्ये काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, रुपन्देही, कैलाली र चितवनमा धेरै सङ्क्रमित रहेको बताउँदै उनले पछिल्लो १४ दिनमा पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, सिरहा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, रोल्पा, रुकुम पश्चिम र दार्चुलामा सक्रिय सङ्क्रमितको संख्या ह्वात्तै बढेकाले गाउँमा कोरोना फैलिएको पुष्टि भएको उल्लेख गरे ।
प्रवक्ता पौडेलका अनुसार प्रदेश १ मा पाँचथर, ओखलढुङ्गा, तेह्रथुममा कोरोना सङ्क्रमण अत्यधिक रहेको छ । यस्तै प्रदेश २ मा सिरहा, बागमती प्रदेशमा सिन्धुपाल्चोक, नुवाकोट, गण्डकी प्रदेशमा नवलपरासी पूर्वमा सङ्क्रमण फैलिरहेको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा रोल्पा, कर्णाली प्रदेशमा रुकुम र रुकुम पश्चिम र सुदूरपश्चिमको दार्चुलामा कोरोना तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार कुल सङ्क्रमितमध्ये ४८ दशमलव ८ प्रतिशत महिला र ६१ दशमलव २ प्रतिशत पुरुष छन् । २१ देखि ५० वर्ष उमेर समूहमा सङ्क्रमणदर धेरै रहेको छ । गोरखापत्र दैनिक