कोरोनाबाट इलामकी एक महिलाको विराटनगरस्थित अस्पतालमै मृत्यु

विराटनगर । कोभिड–१९ संक्रमणका कारण इलामकी ३९ वर्षीया एक महिलाको मंगलबार बिहान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। कोरोना महामारीको चरणपछि विराटनगरमा संक्रमणका कारण भएको यो पहिलो मृत्यु हो।

मृतक महिला इलामको सूर्योदय नगरपालिकाकी रहेकी थिइन्। सात दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारका लागि पुगेकी थिइन्। अस्पतालमा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि मंगलबार बिहान ४:२० बजे नोबेल शिक्षण अस्पताल, विराटनगरमा भर्ना गरिएको थियो।

नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार, उनलाई गम्भीर अवस्थामा अस्पताल ल्याइएको थियो र उपचार सुरु हुन नपाउँदै बिहान ६ बजेतिर आकस्मिक कक्षमै मृत्यु भएको हो।

मृतक महिलालाई श्वासप्रश्वासमा समस्या, ज्वरो र कमजोरीको लक्षण देखिएको थियो। मृत्युपछि शवलाई प्रहरीको जिम्मा लगाइएको अस्पतालले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले शव आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *