

बागमती प्रदेशसभाको ८ औं अधिवेशन आह्वान

मकवानपुर – बागमती प्रदेशसभाको ८ औं अधिवेशन बैठक जेठ १६ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ को बमोजिम जेठ १६ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख प्रसाईले बैठक आह्वान गरेका हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति, कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्ने क्रममा बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।
बागमती प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको बागमती प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ । बागमती प्रदेशसभाको ७ औं अधिवेशन बैठक गत बैशाख ९ गते अन्त्य गरिएको बागमती प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत राजेशकुमार तामाङले बताए ।