काभ्रे प्रदेशसभामा पाण्डेको उम्मेदवारी, आज मतदान हुँदै

काभ्रे । देशभर नेपाली कांग्रेको १४ औं महाधिवेशनको रौनक चलिरहेको छ । कांग्रेस महाधिवेशन आयोजक समितिले आज अर्थात् मंसिर ३ गतेका लागि प्रदेशको निर्वाचनको कार्यतालिका प्रकाशित गरिसकेको अवस्थामा गाउँदेखि प्रदेशसम्म चुनावी माहौल तातेको छ ।

पछिल्लो समयमा राजनीतिक दलप्रतिको वितृष्णालाई पन्छाउँदै युवाहरु राजनीतिमा होमिने क्रम बढेको छ । राजधानीसँगै जोडिएको जिल्ला काभ्रेमा पनि अहिले अधिवेशनको सरगर्मी छ । युवा नेताहरूले नेतृत्वमा दाबेदारी पेश गरेपछि त झन् माहोल गर्माएको छ ।

काभ्रे प्रतिनिधिसभा १ को प्रदेश (ख) को सभापतिमा युवा नेता रोशनराज पाण्डेले दाबेदार प्रस्तुत गरेपछि यस क्षेत्रका कांग्रेस कार्यकर्तामा खुशी छाएको छ ।

पाण्डेले अग्रजलाई सम्मान र नयाँ युवालाई स्थान, आउँदो चुनावमा पार्टीलाई एक नम्बर बनाउने र संगठन सुदृढीकरणको खाका प्रस्तुत गरेका छन् । पाण्डेले अघि सारेको एजेण्डाका कारण पनि उनी युवाहरूको रोजाइमा परेका छन् । कांग्रेसका नयाँदेखि पुराना नेता,कार्यकर्ताले पाण्डे जत्तिको सबल नेतृत्वलाई सभापति बनाउनुपर्नेमा जोड दिन थालेका छन् । पाण्डेको पक्षमा बलियो माहोल सिर्जना भएको छ ।

लामो समयदेखि राजधानी र जिल्लामा बसेर सुरक्षा र अपराध मामलामा कलम चलाएर सशक्त र निर्भिक पत्रकारको छवि बनाएका पाण्डेले पछिल्लो समय राजनीतिमा देखिएको विसंगतिलाई चिर्नका लागि आफू राजनीतिमा लागेको बताएका छन् । उनको उम्मेदवारीले छोटो समयमै कार्यकर्ताहरूमा उत्साह र उमंग आएको कार्यकर्ताहरु बताउँछन् । ‘उहाँजस्तो उम्मेदवार पाउनु हाम्रो लागि खुशीको कुरा हो, अब राजधानी नजिकको जिल्ला भएर पनि विकासमा पछि परेको काभ्रेमा विकासको लहर आउँछ,’खानीखोला गाउँपालिकाका एक कार्यकर्ताले भने ।

‘नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा यहाँहरुकै सल्लाह, सुझाव बमोजिम काभ्रे निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा ‘ख’बाट मैले प्रदेशसभाको सभापतिमा उम्मेदवारी घोषणा गरेको छु, निर्वाचनमा यहाँहरुको साथ सहयोगका साथै सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरुको अमूल्य मतका लागि अपिल गर्दछु’, प्रदेश सभापतिका दाबेदार पाण्डे भन्छन्, ‘काभ्रे कांग्रेसलाई सुदृढ बनाउने र आउँदो सबै तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासहित मेरो उम्मेदवारी हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *