

कोरोना भाइरस: भारतीय नयाँ भेरिअन्ट कति खतरनाक, के खोपले काम गर्छ?

भारतीय भेरिअन्टलाई आधिकारिक रूपमा बी.१.६१७ भनिएको छ। त्यो अक्टोबरमा पहिलो पटक फेला परेको हो। उक्त भेरिअन्ट कति छिटो र कतिसम्म फैलिएको छ भन्ने पत्ता लगाउन भारतभर यथेष्ट मात्रामा नमुना परीक्षण भएको छैन।
महाराष्ट्रमा ज्यनुअरीदेखि मार्च महिनाबीचमा सङ्कलन गरिएका ३६१ वटा नमुनामध्ये २२० वटामा यो भेरिअन्ट भेटिएको थियो।जीआईएसएआईडीको विश्वव्यापी आँकडा अनुसार अहिले यो २१ वटा देशमा भेटिएको छ।
अन्तर्राष्ट्रिय यात्रुले पुर्याएको देखिएको उक्त भेरिअन्ट ब्रिटेनमा फेब्रुअरी २२ यता १०३ जनामा देखिएको छ। यसकै कारण ब्रिटेनले भारतलाई जोखिमयुक्त मुलुकको सूचीमा राख्दै जाने शुक्रवारदेखि यात्रा प्रतिबन्ध लगाएको छ।
भारतबाट ब्रिटेन यात्रा अब यूकेका नागरिक र त्यहाँ बसोबास अनुमति भएकाले मात्रै गर्न सक्छन् र उनीहरू पनि अनिवार्य रूपमा सरकारले स्वीकृत दिएका होटलमा क्वारन्टीनमा बस्नुपर्छ।
पब्लिक हेल्थ इङ्गल्यान्डले भारतीय भेरिअन्टलाई अनुसन्धानमा रहेको गम्भीर मध्येको एउटा भेरिअन्टको सूचीमा राखेको छ।
‘आत्तिनु पर्दैन’
वैज्ञानिकहरूले यो भेरिअन्ट झनै सङ्क्रामक वा खोपको प्रतिरोध गर्न सक्ने हो कि होइन भन्ने थाहा पाइसकेका छैनन्। लुइजियाना स्टेट युनिभर्सिटीका भाइरोलोजिस्ट डा. जेरेमी कमिलले उक्त भेरिअन्टको एउटा म्युटेसन दक्षिण अफ्रिका र ब्रजिलमा पहिचान भएका भेरिअन्टसँग मिल्दो छ।
अहिले निकै चिन्ताको विषय बनेको यूके भेरिअन्ट ब्रिटेनमै व्यापक छ र ५० वटा देशहरूमा फैलिसकेको छ। कमिल भन्छन्, ‘यूके भेरिअन्टभन्दा भारतीय बढी सङ्क्रामक छ भन्नेमा मलाई शङ्का छ, हामी आत्तिनु पर्दैन।’
वैज्ञानिकहरूले भारतीय भेरिअन्टबारेको तथ्याङ्क अपुरो रहेको रहेको बताएका छन्। उनीहरूका अनुसार भारतमा २९८ र विश्वभरी ६५६ वटा त्यसका नमुना यूके भेरिअन्टको तीन लाख ८४ हजार नमुनाको तुलनामा निकै कम भएको उनीहरूको भनाइ छ।
भारतमा दोस्रो लहरका नयाँ भेरिअन्ट कति जिम्मेवार?
भारतमा एप्रिल १५ यता दैनिक सरदर दुई लाख सङ्क्रमित थपिएका छन्। जबकि गत वर्ष सङ्क्रमण उच्च रहेका बेला औसत सङ्क्रमितको सङ्ख्या ९३ हजार थियो। मृत्यु पनि बढिरहेको छ।
‘भारतको उच्च जनसङ्ख्या र जनघनत्व भाइरसको म्युटेसनको निम्ति उपयुक्त हो,’ क्याम्ब्रिज युनिभर्सिटीका क्लिनिकल माइक्रोबायोलोजीका प्राध्यापक रवि गुप्ता भन्छन्।
तर भारतमा सङ्क्रमणको लहरको कारक ठूलो भेला, मास्क लगाउने र सामाजिक दुरी राख्ने जस्ता रोकथामका उपायको बेवास्ता हुनसक्ने उनको धारणा छ।
वेलकम सङ्गर इन्स्टिट्यूटका डा. जेफ्री ब्यारेटले नयाँ भेरिअन्ट सम्भावित कारण र प्रभाव हुनसक्ने बताउँदै तर अझैँ पनि प्रमाणको अभाव रहेको उल्लेख गरे।
उनले भारतीय भेरिअन्ट करिब गत वर्षको अन्त्यतिरबाट रहेको औँल्याए। ‘यदि त्यसले भारतमा नयाँ लहर निम्त्याइरहेको हो भने यो विन्दुमा पुग्न कैयौँ महिना लाग्यो। त्यसले यो सम्भवतः यूके बी ११७ भेरिअन्टभन्दा कम सङ्क्रामक रहेको देखाउँछ,’ उनले भने।
खोपले काम गर्छ?
वर्तमान खोपहरू गम्भीर अवस्थामा पुग्न नदिने कुरा नयाँ भेरिअन्टहरूमा पनि लागु हुने विश्वास वैज्ञानिकहरूको छ। नेचर पत्रिकामा प्रकाशित प्राध्यापक गुप्ता र उनका सहकर्मी अनुसन्धानकर्ताहरूको आलेख अनुसार केही भेरिअन्टले वर्तमान खोपहरूलाई छल्न सक्छन् त्यसको निम्ति खोपलाई थप प्रभावकारी बनाउन तिनमा परिमार्जन गर्नुपर्ने खाँचो पर्छ।
तर अहिले उपलब्ध खोपले अझैँ पनि रोगको विस्तारको गतिलाई सुस्त गराउन सक्छन्। ‘धेरै मानिसहरूको निम्ति अहिलेका खोपहरूको प्रभाव थोरैदेखि रोगमुक्त गर्नेसम्म अनि मृत्युको जोखिमबाट बचाउँदै अस्पतालबाट घर फर्काउनेसम्म फरक-फरक हुनसक्छ,’ डा. कमिल भन्छन्।
‘कृपया तपाईँलाई दिन लागिएको खोप पहिले लिइहाल्नूस, सङ्कोच मान्ने र उत्कृष्ट खोपको निम्ति पर्खिने गल्ती नगर्नूस्।’ बीबीसी