

लोड गरेको पेस्तोलसहित युवक पक्राउ

नवलपरासी – पश्चिम नवलपरासीमा एक थान पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ तरेनी निवासी २२ वर्षीय सुनिल भेडिहारलाई रामनगर प्रहरी चौकीले सोमबार लोड गरेको पेस्तोल सहित पक्राउ गरेको छ ।
सोमबार बिहान नेपाल भारत सीमा क्षेत्र सुस्ता गाउँपालिका– ५ रामनगरमा पर्ने ४ नं ठोकरमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको युपी ५७ ए जेड ५०१९ नम्बरको मोट स्थित भारत तर्फबाट नेपालतर्फ आउदै गरेका उनलाई प्रहरीले चेकजाँच गर्ने क्रममा पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।
प्रहरीले उनको साथबाट एक राउण्ड चेम्बर लोड भएका टाइप ५४ जस्तो देखिने म्याग्जिन सहितको पेस्तोल बरामद गरी सार्वजनिक गरेको छ । पक्राउ परेका सुनिल भेडिहारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।