

मोटरसाइकल चोरी आरोपमा तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित पैयुँटारबाट मोटरसाईकल चोरीको आरोपमा तीन युवक पक्राउ परेका छन् । मोटरसाईकल चोरीमा संलग्नलाई सो नगरपालिकाको वडा नम्बर–१० बाट ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले पक्रेको हो ।
पक्राउ पर्नेमा नुवाकोट घर भएका २० वर्षीय नमराज अधिकारी, २२ वर्षीय रामचन्द्र अधिकारी र १९ वर्षीय रामचन्द्र थापा छन् । तारकेश्वर नगरपालिकामा बस्ने उनीहरुले चैत २७ मा बा.९५प ३३३५ नम्बरको पल्सर मोटरसाईकल चोरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
नुवाकोटका राजु तामाङले मोटरसाईकल हराएको निवेदन दिएपछि महाशाखाले अनुसन्धान गरेर आरोपीहरुलाई पक्राउ गरेको हो । चोरेपछि वास्तविक नम्बर परिवर्तन गरेर उनीहरुले नयाँ नम्बर प्लेट राखेर सो मोटरसाईकल चढेर हिँडेका थिए । मंगलबार पक्राउ गरेर उनीहरुविरुद्ध चोरी मुद्दामा थप अनुसन्धान गर्न प्रहरी वृत्त गौशालामा पठाइएको महाशाखाले जनाएको छ ।