

जापानले पत्ता लगायो पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि

टोकियो – जापानले पाँच मिनेटमा नै कोभिड–१९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ ।
जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको बताइएको हो ।
यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरुले मङ्गलबार यो समाचार सार्वजनिक गरेका छन् । हाल जापानमा पनि पिसिआर टेस्ट नै प्रचलनमा छ । तर पनि यो प्रविधिबाट हाल कोभिड–१९को भाइरस पत्ता लगाउनका लागि कम्तीमा पनि एक घन्टा समय लाग्ने गरेको छ ।
अब भने कुनै पनि व्यक्तिको स्याम्पल लिएको पाँच मिनेट भित्रैमा उसको शरीरमा कोभिड–१९ पोजेटिभ भए नभएको पत्ता लाग्ने छ । यो प्रविधिले अब यहाँ कोरोनाको सङ्क्रमणको परीक्षण गर्न र समयमै यो पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने कुरा विज्ञहरुले जनाएका जापानको राष्ट्रिय टेलिभिजन संस्था एन एच केले जनाएको छ ।
उक्त इन्स्टिच्युटका एकजना वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्नका लागि कुनै पनि जटिल प्रक्रिया नभएको र सामान्य रुपमा र थोरै उपकरणको सहायताबाट नै पत्ता लाग्ने जानकारी दिए ।