पर्यटकका लागि दुबईको अग्रगामी छलाङ, कोरोनाबीच खुल्यो दुबई



दुबई । कोरोनाबीच खाडी राष्ट्र दुबइ पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन थालेको छ ।

पर्यटक आवागमनको अनिश्चितता र कोरोनासँग धेरै मुलुक जुधिरहेको अवस्थामा यहाँका ठूला मल र पर्यटकीय गन्तव्यहरु खुलेका छन् । पछिल्लो समय दुबईको मुख्य आम्दानीको स्रोत पर्यटन पनि हो ।

दुबई सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न यहाँको सरकारले प्रयास थालिसकेको छ । नजिकिँदै गएको हिउँदे महिनामा पर्यटकलाई यहाँ आमन्त्रण गर्न दुबईले तयारी थालेको छ । तर यसका लागि कोरोना नियन्त्रण गर्नु युएईका लागि फलामको च्यूरा चपाए सरह हुनेछ । युएईमा पनि कोरोनाबाट संक्रमित छन् र उनीहरुको उपचार जारी छ ।

मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको दुबईमा थर्मोमिटरबाट प्रत्येक आगन्तुकको शरीरको तापक्रम नाप्ने व्यवस्था गरिएको छ । “मेरो विचारमा यस्ता कार्यले मानिसमा दुबई घुम्न आत्मविश्वास बढाउँछ,” दुबईस्थित रोभ होटल्सका कर्पोरेट निर्देशक पल ब्रिजरले भने । “तैपनि मानिसमा विश्वास जागृत गराउन केही समय लाग्नेछ ।”

पर्यटकीय गन्तव्यका लागि दुबई पछिल्ला वर्षमा निकै प्रख्यात छ । यहाँका शासक शेख मोहम्मद बिन रसिद अल मख्तुमले दुबईलाई विश्वस्तरको आकर्षक शहर बनाउन कसर बाँकी राखेका छैनन् । विश्वकै अग्लो भवन बुर्ज खलिफा र बुर्ज अल–अबर लक्जरी होटल जस्ता भएको दुबई अन्तर्राष्ट्रिय विमानस्थल छ ।

करिब ९० लाख जनसंख्या रहेको युएईमा ५० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तर यीमध्ये करिब ४० हजार निको भइसकेका छन् भने ३२१ जनाको मृत्यु भएको छ ।