पहिरोका कारण साँफे–मार्तडी सडक अवरुद्ध



बाजुरा । अविरल वर्षाका कारण साँफे –मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाका बूढीगंगा र बडिमालिका नगरपालिकाको सिमाना नजीकै पर्ने द्वारीमा सडक तलबाट बूढीगंगा नदीले काटेपछि पहिरो बगी सडक भासिएको हो ।

वर्षायाम शुरु भएसँंगै लगातारको वर्षाका कारण सडक ठाउँठाउँमा भत्किएको छ । सडक भासिएसंँगै साँफे –मार्तडी राजमार्ग अवरुद्ध हुनाका साथै आवतजावत ठप्प भएको छ । आज बिहान आएको भारी वर्षाका कारण द्वारीमा करीब चार मिटर सडक तल भासिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

सडक खोल्नका लागि सडक डिभिजन कार्यालय अछामबाट स्काइभेटरसहित इञ्जिनीयरहरुको टोली आए पनि वर्षा नरोकिएका कारण सडक पुनः सञ्चालन नसकेको र बुधबार साँझसम्म मात्रै हुन सक्ने प्रजिअ गैरेले बताए ।