

पाेखरामा घरधनी महिलासहित ६ जुवाडे प्रहरीको फन्दामा

पोखरा । कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा–१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गुरुङ छन् । जुवाखालबाट रु ४७ हजार १०० र तास बरामद भएको छ ।
प्रवक्ता हमालका अनुसार विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको हो । कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट तीन महिलासहित १० जुवाडेलाई पक्राउ गरेको थियो ।