म्यानमारमा सेनाविरुद्धको प्रदर्शन जारी, हालसम्म ५ सय ५७ जनाकाे मृत्यु



यंगुन – म्यानमारमा सैन्य शासनको विरोध गरिरहेका प्रदर्शनकारीले आइतबार ‘ईस्टर एग’ लाई आफ्नो विरोधको प्रतिक बनाएका छन् ।मानिसहरु ‘इस्टर एग’ सँग आफ्नो तस्बिर पोस्ट गरिरहेका छन् । यी तस्बिरमा थुप्रै नारा लेखिएका छन् र मानिसहरुले म्यानमारमा लोकतन्त्रको बहाल होस् भनेर माग गरिरहेका छन् ।

१ फेब्रुअरीमा म्यानमारमा सैन्य कूपछि सैन्य शासकले सत्ता आफ्नो हातमा लिएका थिए र आङ सान सूचीसमेत छानिएको सरकारका विभिन्न अन्य नेतालाई हिरासतमा लिइएको थियो । यसविरुद्ध म्यानमारका नागरिक विरोध प्रदर्शन गरिरहेका छन् ।

यी प्रदर्शनमा हालसम्म ५५७ मानिसहरु मारिएको खबर छ । ‘द असिस्टेन्ट असोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) नामका एक कार्यकर्ता समूहले यो आँकडा जारी गरेको छ ।

यो समूह सैन्य कू पछि नै विरोध प्रदर्शनमा घाइते भएका र मारिएका मानिसहरुको गन्ती गर्ने काम गरिरहेका छन् । यो समूहका अनुसार बर्माका मानिसहरु सैन्य तानाशाहीको अन्त्यसम्म र लोकतन्त्रको बहालीसम्म विरोध प्रदर्शन जारी राख्नेछन् ।

एएपीपीका अनुसार २६ सय भन्दा बढी मानिसहरु प्रहरीको हिरासतमा छन् । प्रदर्शनमा मृत्यु हुनेहरुको बढ्दो संख्यापश्चात् पनि म्यानमारका विभिन्न शहरमा भइरहेको प्रदर्शनमा समावेश हुने मानिसहरुको संख्यामा कमी आएको छैन ।

यसैबीच म्यानमारका सेना लगातार मानिसरुको आपसी संवादमाथि रोक लगाउने कोसिस गरिरहेका छन् । शुक्रबारदेखि म्यानमारमा मोबाइल इन्टरनेट बन्द छ । फिक्स लाइनको प्रयोग गर्ने मानिसहरुमात्रै इन्टरनेटको प्रयोग गर्न सकिरहेका छन् ।

यस्तै प्रशासनले म्यानमारका कम्तीमा ४० चर्चित व्यक्तिविरुद्ध वारेन्ट जारी गरेको छ । प्रशासनले यी मानिसहरुको अपराधबारे जानकारी दिँदै यी मानिसहरुले म्यानमारमा सैन्य शासनको विरोध गरेका छन् । एजेन्सी