

माछा मार्न तयार गरेकाे विस्फोटक पदार्थ पड्किँदा एकको मृत्यु

बागलुङ – बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका-२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।
विष्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२, हाडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको छ । स्थानीयवासी दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा एक्कासि विष्फोट हुँदा दुईजना बिहीबार दिउँसो गम्भीर घाइते भएका थिए ।