

छुट्टाछुट्टै सडक दुर्घटनामा दुईको मृत्यु

कोहलपुर – बाँकेको कोहलपुरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक २५ वर्षीय वीरेन्द्र शाहीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा परी घाइते भएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था गम्भीर रहेको छ भने पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ । घाइतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस चालक फरार रहेका छन् ।
बाँकेकै राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा गएराति ना८च ५४५६ नं को टिपरले सडकमा गुडिरहेका दुई मोटरसाइकललाई ठक्कर दिँदा राप्तीसोनारी गाउँपालिका– ५ बस्ने २५ वर्षीय ढकबहादुर खड्काको मृत्यु भएको छ ।
दुर्घटनामा मृतकका दाजु ३५ वर्षीय मानबहादुर खड्का गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार, टिपरले मृतक खड्का सवार भे८प ३७९५ नं को मोटरसाइकल र भे५प ३८८९ नं को मोटरसाइकललाई एकैपटक ठक्कर दिएको थियो ।
दुर्घटनामा ५१ वर्षीय सञ्जय चन्द घाइते भएका छन् । दुई मोटरसाइकललाई ठक्कर दिएर फरार भएको टिपर र चालकलाई गएरातिनै नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको उपरीक्षक खनालले बताए ।