

सैन्य ‘कू’ को विरोधी प्रदर्शनमा प्रहरीले चलायो गोली : दुईको मृत्यु

यंगून – म्यानमारमा आइतबार भएको सैन्य ‘कू’ विरोधी प्रदर्शन गर्नेमाथि प्रहरीले गाेली चलाएको छ । घटनामा दुई जनाको मृत्यु साथै दर्जनौं प्रदर्शनकारी घाइते भएको खबर छ ।
समाचार एजेन्सी रोयटर्सले म्यानमार प्रहरीले आइतबार सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पुष्टि गरेको छ ।
प्रहरीले यंगून शहरका विभिन्न इलाकामा टियर ग्याँस र स्टन ग्रेनेड फ्याँकेका थिए । तर यति गर्दा पनि प्रदर्शनकारीको भीड तितरबितर नहुँदा प्रहरीले गोली चलाएको थियो । एक डाक्टरले नाम नबताउने शर्तमा एक व्यक्तिको छातीमा गोली लागेपछि अस्पताल ल्याइएको र उनको मृत्यु भएको जानकारी दिएका छन् । मिज्जिमा मिडिया आउटलेटले पनि यो मृत्युको पुष्टि गरेको छ ।
यसका साथै प्रहरीले देवाईको दक्षिणी इलाकामा पनि गोलाबारी गरेको छ । जसमा एक व्यक्तिको मृत्यु् भएको छ र थुप्रै घाइते भएका छन् । म्यानमारका राजनेता क्या मिन तिकेले यो जानकारी रोयटर्सलाई दिएका छन् । एजेन्सी