विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाउनेहरूले भेटे शेखर

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन हुनुपर्छ भन्दै महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलन गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउनेहरूले इतर समूहका नेता डा. शेखर कोइरालालाई भेटेका छन्।

नेता गुरुराज घिमिरेको नेतृत्वको टोलीले विशालनगरस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा पुगेर आफूहरूले बुझाएको हस्ताक्षर र केन्द्रीय समितिले गर्नुपर्ने निर्णयका बारेमा ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले पार्टीको विधान अनुरूप हस्ताक्षर सङ्कलन गरेर विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति खड्कालाई बुझाएका थिए।

खड्काले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर सहितको पत्र आएको जानकारी जारी केन्द्रीय कार्यसमिति बैठकमा गराइसकेका छन् तर त्यो हस्ताक्षर सहितको पत्र केन्द्रीय कार्यसमितिको एजेण्डा बनेको छैन।

आफूहरूको मागलाई केन्द्रीय कार्यसमितिको एजेन्डा बनाउनुपर्ने भन्दै उनीहरूले कोइरालालाई ध्यान आकर्षण गराएका हुन् ।

यसअघि उनीहरूले कार्यवाहक सभापति खड्कालाई पनि ध्यानआकर्षण गराएका थिए। समूहले मंगलबार हस्ताक्षरकर्ताहरूको विशेष भेला समेत काठमाडौँमा बोलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *