सेनाका खड्कालाई धनगढी हाफ म्याराथनको उपाधि



कैलाली । नयाँ वर्षको अवसरमा धनगढी जेसीजद्वारा आयोजना गरिएको ‘चैतन्य धनगढी हाफ म्याराथन’ को उपाधि नेपाली सेनाका खडकबहादुर खडकाले हात पारेका छन् ।

“अब धनगढी दौडिन्छ”, भन्ने नाराका साथ आयोजित हाफ म्याराथनमा खडकाले २१.१ किलोमिटरको दुरी एक घण्टा तीन मिनेट २१ सेकेण्डमा पार गर्दै रु। ७५ हजार नगद पुरस्कार प्राप्त गरे । खड्का त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् ।

त्यसैगरी त्रिभुवन आर्मी क्लबकै राजन रोकाया उपविजेता भए । उनले निर्धारित दुरी एक घण्टा छ मिनेट सात सेकेण्डमा पूरा गरे । रोकायाले रु ५० हजार नगद पुरस्कार प्राप्त गरे ।

एक घण्टा १० मिनेटमा निर्धारित दुरी पार गर्दै आर्मीकै नरेन्द्रसिंह रावत तेस्रो भए । रावतले नगद रु २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

त्यसैगरी आयोजकले तीन विधामा गरेको हाफ म्याराथनको कर्पोरेट महिला तर्फको विधामा लक्ष्मी भट्ट प्रथम, कमला बडवाल द्वितीय र शान्ता वली तृतीय भइन् ।

पुरुषतर्फ विक्रम पार्की प्रथम, देवेन्द्र चन्द द्वितीय र चन्द नाथ तेस्रो भए । उनीहरुलाई नगद पुरस्कार क्रमशः रु सात हजार पाँच सय, पाँच हजार र दुई हजार पाँच सय प्रदान गरियो ।