सर्वोच्चको फैसलापछि के भन्छन् कांग्रेसका नेता ?



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्ने फैसला गरेसँगै नेपाली कांग्रेसका नेताहरुले पनि आ–आफ्ना प्रतिक्रिया दिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चको फैसलाको सम्मान गर्दै स्वागत गरेका छन् । उनले विज्ञप्तिमार्फत कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको उल्लेख गरेका छन् ।

यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जालमार्फत संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको र फैसलाले सत्यको जित भएको भन्दै यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको उल्लेख गरे। उनले सर्वोच्चलाई धन्यवाद दिँदै आफूले भन्दै आएको र सत्यभन्दा माथि शासक हुन नसक्नेसमेत स्पष्ट पारे ।

कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले विज्ञप्तिमार्फत सर्वोच्चको स्वागतयोग्य भएको र यसले स्वतन्त्र न्यायपालिका, संवैधानिक सर्वोच्चता, विधिको शासन, लोकतान्त्रिक शासन व्यवस्थामा विश्वास गर्ने आमनेपाली जनताको भरोसा टुट्नबाट जोगाएको उल्लेख गरेका छन्। आगामी दिनमा पनि देश र जनताको आस्थाको केन्द्रबिन्दुको रुपमा न्यायपालिकाको गरिमा यसैगरी कायम रहनेछ भन्ने विश्वास व्यक्त गरे।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विज्ञप्तिमार्फत सर्वोच्च अदालतले संविधानको मर्म र भावनाअनुसार निर्णय गरेको र फेरि एकपटक विधिको शासनको जित भएको उल्लेख गरेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा संविधान रक्षा गर्दै जनताको जित भएको बताएका छन् ।

युवा नेता गगनकुमार थापाले पनि सामाजिक सञ्जालमार्फत अदालतले बिना भय र दबाब, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको बताए।