

को हुन् चितवनमा युवक कुट्ने असई भुजेल ?

काठमाडाैं । चितवनमा ‘पावर देखाएको’ भन्दै युवकलाई निर्घात कुटपिट गरेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल निलम्बनमा परेका छन् ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले असई भुजेललाई अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिए ।
पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका–११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको कुटपिटको घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरतअसई भुजेलले युवकलाई कुटेको देखिएकाले छानबिनका लागि निलम्बन गरिएको हो ।
चितवन प्रहरीले डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेर घटनाबारे छानबिन गरिरहेको छ ।
प्रहरीले युवकलाई पावर देखाएको भन्दै कुटपिट गरेको भिडिओमा देखिन्छ । सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको थियो ।