दर्पुक र मिर्मी जोड्ने गरी कालीगण्डकीमा बन्ने भयो पक्की पुल



पाल्पा – कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा र पाल्पा जोड्ने मोटरेबल पुलको शिलान्यास गरेकी छिन् । सो पुलले स्याङ्जाको कालीगण्डकी र पाल्पाको बगनासकाली गाउँपालिका दपुर्क जोड्ने छ ।

विसं २०७७ भदौ १ गते सम्झौता गरिएको मोटरेबल पुल सम्झौताको ३३ महिनामा सक्नु पर्ने समयसीमा छ । गौरी पार्वती न्यु टेक्निकल जेभी कुपन्डोलले निर्माणको जिम्मा लिएको पुल पिएस र भ्याटसहित रु १५ करोड ३९ लाख २८ हजार ६७९ र पैसा ५० मा सम्झौता भएको हो ।

१.७५ मिटर दायाँबायाँ फुटपाथ रहने पुल ११ मिटरको चौडाइको हुने छ । एक सय २० मिटर लम्बाइको पुल दुई स्पान रहने सडक डिभिजन कार्यालयका प्रमुख भीमार्जुन कंँडेलले जानकारी दिए। ओपन फाउण्डेशनमा बन्ने पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ पाल्पाले हेर्नेछ ।

उक्त अवसरमा मन्त्री अर्यालले मुलुकका हरेक पालिकामा बृहत् खानेपानी योजना शुरु भएको र यही सरकारका कार्यकालमा देशका ३९६ स्वास्थ्य केन्द्र शिलान्यास भएकामा तीमध्ये केही सकिएको र केही निर्माणाधीन रहेको बताइन् ।