एसएसपी भट्टराईको कथा सङ्ग्रह ‘दृश्य प्रलेख’ सार्वजनिक



काठमाडौं । मधेश प्रदेश प्रहरी तालिम केन्द्र (सम्पर्क कार्यालय) राजविराजका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालचन्द्र भट्टराईको कथा सङ्ग्रह ‘दृश्य प्रलेख’ सार्वजनिक भएको छ ।

शनिबार यहाँ आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, वरिष्ठ प्रहरी अधिकृत र वरिष्ठ साहित्यकारलगायत सहभागीले संयुक्त रूपमा उक्त कथा सङ्ग्रहको विमोचन गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले कर्तव्य पालनाका सिलसिलामा देखेका, भोगेका विषयवस्तुलाई कृतिमा समावेश गरिएको बताउँदै लेखकको मेहनत र सिर्जनशीलता प्रसंशनीय रहेको उल्लेख गरे । उनले समाजमा व्याप्त विकृति र विसङ्गतिप्रति तिखो प्रहार भएको यस कृतिले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

प्राज्ञ अमर न्यौपानेले कथाको पात्र र परिवेशमा ‘प्राण तत्व’ भर्न लेखक सफल भएको जनाउँदै कथामा मर्मस्पर्शी ढङ्गबाट विषयको प्रस्तुति गरिएको उल्लेख गरे । प्रहरी सङ्गठनभित्र पनि लेखक हुँदा रहेछन् भन्ने यस कथा सङ्ग्रहले स्पष्ट पारेको उल्लेख गर्दै उनले पात्र र परिवेशको छनोटले कथावस्तुलाई आकर्षक बनाएको टिप्पणी गरे ।

लेखक एवं समीक्षक राजकुमार बानियाँले कथा सङ्ग्रह अध्ययन पछि जाज्वल्यवान लेखक प्रहरी सङ्गठनभित्र कसरी लुकेर रहेका रहेछन् भन्ने आफूले अनुभूति गरेको बताए । मार्मिक, सुन्दर र प्रभावकारी ढङ्गबाट लेखिएका यी कथाले सर्जकलाई सिद्धहस्त लेखकको पहिचान दिएको उनले उल्लेख गरे ।

समीक्षक सुमन वर्षाले दृश्य प्रलेख समकालीन सयमलाई प्रतिविम्बित गरिएको कथा सङ्ग्रह रहेको बताए । ‘प्रस्तुत कथा उत्तर आधुनिकतातर्फ उन्मुख छन्, पात्रका माध्यमबाट निर्माण गर्न खोजिएका संसार मौलिक र नयाँ छन्’, उनले भने ।

प्रहरी नायब महानिरीक्षक (डिआईजी) रवीन्द्र केसीले व्यक्ति र समाजका अन्तरसम्बन्ध तथा मानवीय संवेदनालाई आफ्ना रचनामा प्रकट गरेर लेखक भट्टराईले मानवीय जीवनका कथा, व्यथालाई मार्मिक ढङ्गबाट प्रस्तुत गर्नुभएको बताए । ‘यो कृति पुस्तकको भीडमा पुस्तक मात्रै हुनेछैन, नेपाली साहित्यिक क्षेत्रमा ओजस्वी ग्रन्थका रूपमा रहनेछ’, लेखक समेत रहेका डिआईजी केसीले भने ।

कथाकार भट्टराईले सामाजिक, सांस्कृतिक र पारिवारिक परिवेशका विषयवस्तुलाई कथामा उतारिएको जानकारी दिँदै अधिकांश कथामा आफैँले देखे, भोगेका सुख, दुःख, उकालीओराली र अँध्याराउज्याला पक्षलाई समावेश गरिएको बताए ।

शिखा बुक्सले प्रकाशनमा ल्याएको उक्त कथा सङ्ग्रहमा ‘डण्डिफोर’, ‘पाप धर्म’, ‘लकडाउन’, ‘चोर पुलिस’, ‘इबोला’, ‘दसैँको लुगा’, ‘विद्रोह’, ‘पराजित गमन’लगायत १७ वटा कथा सङ्ग्रहित छन् । दुई सय ४८ पृष्ठको सो कथा सङ्ग्रहको मूल्य रु पाँच सय ५५ राखिएको छ ।