

ड्युटीमै रहेका सशस्त्र सई यादवको गाडीको ठक्करबाट मृत्यु

सिरहा । सिरहामा डिउटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को गाडीको ठक्करबाट मृत्यु भएको छ ।
बरियारपट्टी गाउँपालिका-१ कचनारीमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका सई यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको हो ।
उनी सशस्त्रको बीओपी बरहरीमा कार्यरत थिए । प्रहरीका अनुसार तीव्र गतिमा आएको गाडीलाई रोक्न खोजेपछि सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेको थियो ।