

रथी सिग्देल जन्ममिति विवाद प्रकरणः नाम ‘अशोक’ कि ‘असोक’ ? जन्मस्थान ‘कपिलवस्तु’ कि ‘रुपन्देही’ ?
राष्ट्रपति कार्यालय, अख्तियारदेखि गृहमन्त्रालयसम्म उजुरीनै उजुरीको चाङ

काठमाडौं । अन्य कुरा यथावत रहेमा आगामी भदौ २४ गतेदेखि नेपाली सेनाको सर्वोच्च पद प्रधानसेनापति कमाण्ड सम्हाल्ने बरियतामा रहेका रथी अशोकराज सिग्देलको जन्ममिति विवाद दिनप्रतिदिन बढ्दै गएको छ ।
सिग्देलविरुद्ध राष्ट्रपति कार्यालयदेखि विभिन्न ११ निकायमा उजुरी परेको छ । उजुरीअनुसार जन्ममिति विवादमा मुछिएका नेपाली सेनाका रथी अशोकराज सिग्देलको नागरिकतामा अर्को विवाद देखिएको छ । रुपन्देहीका सिग्देलले जाजरकोटबाट बनाएको नागरिकताको प्रतिलिपिमा जन्मस्थान, नाम र जारी मिति नै फरक देखिएपछि थप संशय देखा परेको हो ।
रथी बढुवाको प्रक्रियामै रहँदादेखि जन्ममितिमा विवादित देखिएका सिग्देलको दोहोरो नागरिकता र शैक्षिक प्रमाणपत्रको कीर्तेका सम्बन्धमा छानबिन गरी पाउँ भनी नागेश्वर चौधरीले दिएको उजुरीमा सिग्देलको २०४०/०६/०९ मा जारी भएको नागरिकताको प्रतिलिपिमा चाहिँ जारी मिति २०४०/०४/२९ रहेको खुलेको हो । उक्त प्रतिलिपिमा सिग्देलको जन्मस्थान नै परिवर्तन गरिएको समेत पाइएको छ । पहिलाको नागरिकतामा जन्मस्थान कपिलवस्तु भएकोमा प्रतिलिपिमा रुपन्देही लेखिएको छ ।
त्यस्तै नाममा पनि पहिलो नगरिकतामा ‘अशोक राज सिग्देल’ रहेकोमा प्रतिलिपिमा ‘असोक राज सिग्देल’ रहनुले पनि कीर्ते गरेको मान्न सकिने उजुरीमा उल्लेख गरिएको छ । यता अंग्रेजी नाममा त्रिवि दर्तामा रहेको नाममा पनि ‘Ashok Raj Sigdel’ रहेकोमा नागरिकताको प्रतिलिपिमा भने ‘Asok Raj Sigdel’ रहेको देखिएको छ । तर, जिल्ला प्रशासन कार्यालय जाजरकोटले दिएको अभिलेख प्रमाणित गरिएको व्यहोराको पत्रमा ‘अशोकराज सिग्देल’ रहेको छ ।
साथै उजुरीमा रथी सिग्देलले झुठो विवरण पेश गरी रुपन्देहीबाट दोहोरो नागरिकता बनाएको हुनाले त्यस उपर पनि छानबिन गर्नुपर्ने माग गरिएको छ । उजुरीमा भनिएको छ, ‘रथी अशोक राज सिग्देलले झुठो विवरण पेश गरी रुपन्देही जिल्लाबाट दोहोरो नागरिकता बनाउनुका साथै विवरणहरु परिवर्तन गरी जाजरकोट जिल्लाबाट ना.प्र.नं. ६८९२७ हरायो वा नष्ट भयो भनि किर्ते प्रतिलिपि समेत बनाएको र उक्त प्रतिलिपिका साथै हराएको वा नष्ट भएको भनिएको रुपन्देही जिल्लाबाट बनाएको नागरिकता समेत दुवै प्रयोग गरिरहेको देखिएकोले नेपाल नागरिकता ऐन, २०६३ को दफा १२ र १३ अन्तर्गतको कसुरमा रुपन्देही र जाजरकोट जिल्लाका साथै सैनिक अभिलेखालय समेतको कागजपत्र छानबिन गरि ऐन कानुन बमोजिम सजाय हुन माग गर्दछ ।’
यसअघि सिग्देलको सेनाको अभिलेख र नागरिकतामा जन्म मिति फरक–फरक देखिएको छ । सेनाको अभिलेखमा २०२३/१०/१९ रहेकोमा प्रतिलिपि नागरिकतामा २०२३/०४/२९ रहेको पाइएको छ भने त्रिवि रजिष्ट्रेसनको परिक्षा नियन्त्रण कार्यालयको अभिलेखमा २०२१/१२/१९ लाई संशोधन गरी २०२३/१०/१९ बनाइएको पाइएको छ ।
राष्ट्रपति कार्यालयलगायत ११ निकायमा उजुरी
त्यस्तै सिग्देलविरुद्ध राष्ट्रपति कार्यालयमा समेत उजुरी परेको छ । सेनाको नेतृत्व तहमा पुगेका व्यक्ति नै विवादास्पद हुँदा सेनामै समस्या आउने भन्दै न्यायगत निर्णय गरिदिन भन्दै उजुरी परेको हो ।
सिग्देलमाथि उच्चस्तरीय न्यायिक समितिमार्फत छानविन गर्न माग गर्दै छम्पी ललितपुर निवासी नागेश्वर चौधरीको नाममा उजुरी परेको हो । जन्म मिति कीर्ते गरिएका प्रमाणसहित उजुरी परेको हो ।
सिग्देलको वास्तविक जन्ममिति २०२१/१२/१९ भएकोमा पछि २०२३/१०/१९ बनाइएको उल्लेख छ । रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोटमा बसाई सरेर नागरिकताको प्रतिलिपि बनाएका थिए ।
सिग्देलले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ । पछि अभिलेखमै जन्ममिति सच्याएको भेटिएपछि जन्ममितिबारे सशंकित हुने प्रशस्त आधार देखिएको छ ।
नेपाली सेनामा व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा फरक फरक जन्ममिति भएमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ ।
जसअनुसार उनले यसअघि नै अवकाश पाइसक्ने अवस्था छ । यस्तै काण्डमा यसअघि ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस भइसकेपछि राजीनामा दिन बाध्य भएका थिए ।
नेपाली सेनामा आगामी २४ भदौमा नेतृत्व परिवर्तन हुँदैछ । त्यसका लागि सिग्देल नै पहिलो दाबेदारका रुपमा रहेका छन् । तर, सिग्देलको उमेरसम्बन्धमा त्यसअघि नै छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरिएको छ ।