

गण्डकी सरकार ढल्यो, ठुलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ ।
सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मतलाई बदर गर्दै उनलाई पदमुक्त हुने फैसला सुनाएको हो ।
सर्वोच्चका न्यायाधीशद्धय सुनिलकुमार पोखरेल र कुमार रेग्मीको संयुक्त इजलासले अधिकारीले लिएको विश्वासको मत बदर गर्दै रिट निवेदनकर्ता नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश पनि जारी गरेको छ ।
एमाले नेता अधिकारीले गत आइतबार प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । गण्डकीका सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएका थिए । उनले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको बताएका थिए ।
६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए ।