

धन कमाउने आशामा पोर्चुगल पुगेका धनबहादुरले काकासँगै गुमाए ज्यान

काठमाडौं । ४ महिनाअघि टेकबहादुर तामाङ वैदेशिक राेजगारीका लागि क्रोएसिया गएका थिए । आफ्नो आर्थिक अवस्था सुधार्ने सपना बुनेर क्रोएसिया गएका उनी एक महिनाअघि मात्रै त्यहाँबाट पोर्चुगल पुगे ।
क्रोएसियाभन्दा राम्रो काम र धैरै कमाइ हुने भनिएपछि उनी त्यहाँ पुगेका थिए । तर उनको सपना समुद्रले निलेको छ ।
धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५ कटुञ्जे घर भएका ३८ वर्षीय तामाङ गत चैत २४ गते साथीहरुसँग रमाइलो गर्न समुद्र किनारमा पुगेका थिए । तर, त्यहाँबाट उनी कहिलै नफर्कने गरि अस्ताए ।
उनीसँगै धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङ पनि समुद्रमै डुबेर बिलाएका थिए ।
धनबहादुरको शव भने त्यहि दिन फेला परेको थियो । उनको शव उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । पैसा कमाउनै भनेर उनी पनि फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका गएका थिए ।
तर, उनका काका पर्ने टेकबहादुर भने त्यो दिनबाट समुद्रमा हराएको हराएयै भएका थिए । हिजो भने उनको शव फेला परेको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले जानकारी दिए ।
सामुद्रिक खाना शंखजन्य जीव(सेलफिस) खोज्ने क्रममा चैत २४ गतेदेखि समुद्रमा बेपत्ता भएका टेकबहादुर मृत फेला परेकाे उनले बताए ।
दुवैजना क्रोएसियाकाे मोन्तिजो बस्दै आएका थिए ।