

डोल्पा डढेलोः अर्का घाइते सैनिक काभ्रेका मगरको पनि मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं । डोल्पाको ठुलिभेरी नगरपालिका—४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका अर्का सैनिकको पनि मृत्यु भएको छ ।
उक्त वनमा लागेको आगो निभाउने क्रममा देवीदत्त गुल्मका चार जना गम्भीर घाइते भएकोमा ती मध्ये तीन जनाको मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।
जुम्लाबाट थप उपचारका लागि नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएका काभ्रेका केशवबहादुर मगरको आज मृत्यु भएको जनाइएको छ । उनको कीर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको जनाइएको हो ।
त्यसअघि आजै सोही घटनामा घाइते भएका आशिष मगरको मृत्यु भएको थियो भने हेमन्त रावतको सोमबार नै मृत्यु भएको थियो ।
सो घटनामा घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरमै उपचार भइरहेको छ ।
सो घटनामा उनीहरु चार बाहेक अन्य १२ जना सैनिक सामान्य घाइते भएको जनाइएको छ ।