

कुवेतमा ३ नेपालीको गाडीको ठक्करबाट एकै ठाउँमा मृत्यु

काठमाडौं । सडक दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि कुवेत पुगेका उनीहरूको गत बुधबार मृत्यु भएको हो ।
मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन कार्की, लयती पन्चदेवल विनायक-५ अछामका सुरत बहादुर कडायत र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन् ।
साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा बाटो क्रसिङ गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । सो दुर्घटना महाबुल्ला एरियाको सिसाईड रोडमा भएको थियो ।
घटना पश्चात गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै मृतकहरुको शवलाई पोष्टमार्टमको लागि फरवानिया हस्पिटल राखिएको र शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।