आज विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा आज (बुधबार) विश्वासको मत लिँदै छन् ।

प्रतिनिधि सभाको बुधबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले २०७९ सालको निर्वाचनपछि तेस्रो पटक विश्वासको मत लिने भएका हुन् ।

निर्वाचनपछि पहिलो पटक नेकपा (एमालें) सँगको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए । त्यसपछि एमालेसँगको सहकार्य तोडेर करिब तीन महिनामै कांग्रेससँग गठबन्धन गरी दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिएका थिए ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेलगायत पाँच दलको समर्थनमा पुनः प्रधानमन्त्री निरन्तर प्रचण्डले बुधबार तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीलाई एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ । प्रतिनिधि सभाको विश्वासका लागि प्रधानमन्त्रीलाई १३८ मत आवश्यक पर्छ ।

प्रधानमन्त्रीलाई समर्थन गर्ने दलमध्ये एमालेको ७६, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीको १० सांसदलाई मताधिकार छ । तर एमालेका वसन्त नेम्वाङ बिरामी रहेकाले मतदानको सहभागिता निश्चित छैन ।

माओवादी केन्द्रका प्रतिनिधि सभामा ३२ सदस्य छन् ।