नेपाल बन्द घोषणाः प्रचण्ड–माधव पक्षको ‘ब्याक फायर’



प्रतिनिधिसभा विघटनसँगै बढ्दै गएको विवादका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहले नेपाल बन्दको घोषणा गरेका छन् ।

उक्त समूहले भोली अर्थात् बिहीबारका लागि बन्द घोषणा गरेको जनाएका छन् । प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली समूहले आगामी २३ गते अर्थात् शुक्रबारका लागि आयोजना गरेको सभालाई लक्षित गर्दै प्रचण्ड–नेपाल समूहले नेपाल बन्दको घोषणा गरिएको मानिएको छ ।

तर, उक्त समूहले संवैधानिक निकायका पदाधिकारीहरुको सपथलाई कारण देखाए पनि शुक्रबारको सभाका लागि उपत्यकाबाहिरबाट आउने कार्यकर्तालाई रोक्नका लागि नेपाल बन्दको घोषणा गरिएको अनुमान गर्न गाह्रो छैन ।

प्रचण्ड–नेपाल समूहले बिहीबारको आमहड्तालको घोषणा गर्दै उपत्यकालगायतका स्थानमा प्रचार प्रसार सुरु गरिसकेको छ ।

दुई तिहाईको सरकार बनेको अवस्थामा गुटगत स्वार्थमा लागेर नेकपाले ठूलो अवसर गुमाएको छ । त्यसको प्रत्यक्ष असर साधारण जनताले भोग्नुपर्ने निश्चित छ । प्रधानमन्त्री ओलीले विघटनको घोषणा गरेर ताजा जनमतको लागि निर्वाचनमा जाने घोषणा गरेसँगै सडक आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समूहको ‘नेपाल बन्द’ घोषणाले पक्कै पनि सकारात्मक सन्देश ािँदैन । र जनताले उनीहरुप्रति आशावादी हुने ठाउँ रहँदैन । पटक पटकको नेपाल बन्दले आक्रान्त बनिरहेका जनतालाई सत्ताको लुछाचुँडीमा पीडा दिन सुरु गर्नु उक्त समूहका लागि प्रत्यूत्पादक बन्न सक्छ ।

आफूले सडक आन्दोलन गरेर प्रदर्शन गर्ने र अर्को समूहको भेला एवं सभालाई प्रत्यक्ष प्रभाव पार्ने गरी अर्को आन्दोलन घोषणा गर्नु उक्त समूहका लागि ‘ब्याक फायर’ हुनसक्छ ।
अहिलेको अवस्थामा नेपाली जनता सक्षम भइसकेका छन्, बुभ्mने भइसकेका छन् । तर, बाध्यताले गर्दा मात्रै जनता नेताका पछि लाग्न बाध्य भएका हुन् । सामान्य कामका लागि नेताकहाँ धाउनुपर्ने बाध्यता भएका जनता विवश भएर विभिन्न पार्टीको कार्यक्रममा हिँड्न बाध्य भएका छन् ।

यसैबीच उपत्यकामा गरिने प्रदर्शनहरुमा प्रायः गरी उपत्यकाबाहिरबाट आउने भनेका एकै व्यक्ति हुने पनि देखिएको छ । उनीहरुलाई जुन पक्षका नेताले भने पनि मान्नुपर्ने बाध्यता भएकोले यसअघिको प्रचण्ड–माधव पक्षको भेलामा सहभागी भएकाहरु नै ओली पक्षको भेलामा सहभागी हुने तयारीमा रहेको सिन्धुलीका एक स्थानीयले बताए । उनले भने, ‘अस्ती प्रचण्ड–माधव नेपालको भेलामा पनि गएको हो, यसपालि पनि जान त भनेको खै बन्द भनेका छन्, के गर्ने हो कुन्नि ? हेरौं ।’