

धनराज गुरुङको उच्च विचार, मन्त्रालयमा मन्त्रीको नेमप्लेट रहिरहँदा छाडे सरकारी क्वार्टर…

काठमाडौं । प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले गठबन्धन छाडेर नेकपा एमालेसँग नयाँ गठबन्धन गरे पछि कांग्रेसका मन्त्रीहरू अन्यौलमा परेका छन् ।
राजिनामा पनि नदिने भन्ने अडानमा रहेका मध्ये नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले भने मन्त्री निवास छाडेका छन् ।
प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाइ पनि समावेश गरेर नयाँ मन्त्रीमण्डलको तयारी गरिरहँदा कानुन मन्त्री गुरूङले सरकारी निवास छाडेका हुन् ।
गुरुङ मन्त्रीबाट राजीनामा नदिइकन सरकारी निवास छाड्ने पहिलो मन्त्री समेत बनेका छन् । कतिपय मन्त्रीबाट हटेको लामोसमयपछि पनि सरकारी सुविधा नछाड्ने प्रचलन देखिए पनि गुरुङले भने मन्त्री पदमुक्त हुनासाथ सरकारी निवास छाडेका छन् । गुरुङले सरकारी निवास छाड्दाखेरि यता कानुन मन्त्रालयमा भने मन्त्रीको नेमप्लेटमा उनकै नाम रहिरहेको थियो ।
‘आजबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु,’ उनले भने, ‘मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले आजै ४:३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु। सबैलाई धन्यवाद।’