फागुन ७ देखि इपिएस भाषा परीक्षा



काठमाडौं । कोरियामा उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रमा काम गर्न इपिएस भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीहरुको परीक्षा यही फागुन ७ गतेदेखि सुरु हुने भएको छ ।

इपिएस कोरिया शाखाले बुधबार एक सूचना जारी गर्दै कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीहरुको लागि फागुन ७ अर्थात् फेब्रुअरी १९ बाट परीक्षा सञ्चालन हुने उल्लेख गरेको छ ।

शाखाले निर्धारित मिति, समय र सिफ्टमा आवश्यक कागजातसहित उपस्थित हुन नसकेमा परीक्षार्थीलाई कुनै पनि अवस्थामा परीक्षामा समावेश नगराइने प्रस्ट पारेको छ । परीक्षा भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा हुने जानकारी दिइएको छ । परीक्षालाई व्यवस्थित मर्यादित र पारदर्शी बनाउन मोबाइल फोन, इलेक्ट्रोनिक डिक्स्नरी, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको सूचनामा उल्लेख छ ।

कुनै पनि परीक्षार्थीले परीक्षामा चिट चोरे वा कपी गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गरी चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिने शाखाले उल्लेख गरेको छ । तोकिएको परीक्षा समयभन्दा एक घण्टा अगावै परीक्षा हलमा ओरेन्टेसन सुरु हुने छ । ओरेन्टेसनमा बायो–मेट्रिक भेरिफिकेशन गरी उपस्थित हुनुपर्ने जनाइएको छ ।

परीक्षा सञ्चालन मितिभन्दा एक दिन अगावै आफ्नो सिफ्टअनुसार इपिएस कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्टर (फिंगर प्रिन्ट दर्ता) का लागि उपस्थित हुनुपर्ने छ भने परीक्षाको दिन सो बायो–मेट्रिक परीक्षा केन्द्र भैसेपाटीमा भेरिफाई हुने शाखाले उल्लेख गरेको छ ।

इपिएस शाखाले कोरियामा उत्पादनमुलक क्षेत्रमा नेपाली कामदारको माग रहेको जानकारी दिँदै २०२३ डिसेम्बरमा भाषा परीक्षामा सहभागी हुन चाहने नेपालीहरुलाई आवेदन दिन आह्वान गरेको थियो । जसमा एक लाख ६४ हजार ७४१ जनाले आवेदन दिएका थिए । तीन चरणमा सम्पन्न हुने परीक्षा दैनिक पाँच सिफ्टमा सञ्चालन हुने शाखाले जनाएको छ ।