

स्कोरपियोले साइकललाई ठक्कर दिँदा दिदीबहिनीको मृत्यु

रुपन्देही । दाङमा स्कारपियो जीपको ठक्करबाट साइकलमा यात्रा गरिरहेका एकैघरका दिदी बहिनीको मृत्यु भएको छ ।
जीपले ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ वर्षीया राधा केसी बस्नेत र उनकी बहिनी १६ वर्षीया बिपना केसीको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र ३–०१–०२२ च–१३६९ नम्बरको जीपले बुधवार बेलुका सोही दिशातर्फ गइरहेको साइकललाई राप्ती गाउँपालिका–८ पिपरीमा ठक्कर दिएको थियो ।
जीपको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतलाई लमही अस्पतालले मृत घोषणा गरेको थियो ।
केसीलाई उपचारका लागि क्रिमसन अस्पताल रुपन्देही पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
घटनापछि जीप चालक फरार रहेको उनको खोजी भइरहेको मल्लले बताए ।