

हिउँदे अधिवेशन आजदेखि, पहिलो दिनको यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ।
संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ। सचिवालयले यस पटकदेखि कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त बनाउन पाक्षिक रुपमा क्यालेन्डर बनाएर अधिवेशन सञ्चालन गर्ने तयारी गरेको छ। हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनेछन्। आजको बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्नेको मनोनयनको निर्णय सुनाउनेछन्। यस्तै बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९“ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने उल्लेख छ।
यस्तै, अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८०० पेश गर्नेछन्।
यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेश गर्नेछन् ।