

गगन थापा भन्छन्, ‘मन्त्री ज्वालाको लापरबाहीले बालकुमारीमा २ युवाले ज्यान गुमाए’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीले बालकुमारीमा दुईजना युवाको मृत्यु भएको बताएका छन् ।
सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । थाहा हुँदाहुँदै आन्दोलन भइरहेको बाटोबाट मन्त्रीले यात्रा गर्नु लापरबाही भएको महामन्त्री थापाले बताए ।
महामन्त्री थापाले भने, ‘त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो । चरम लापरवाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरवाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो ।’
उनले बालकुमारी घटनामा राजनीतिक नेतृत्वले गरेको लापरबाहीबारे पनि न्यायिक समितिले छानबिन गर्नुपर्ने बताए । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पनि जिम्मा लिनुपर्ने बताए ।
लामो समयदेखि ईपीएसलाई लिएर आन्दोलन र विवाद भइरहेको विषयमा मन्त्री भण्डारीले समन्वय नगरेको महामन्त्री थापाको भनाई छ ।