भावी प्रधान सेनापतिका लागि ‘लाइन क्लियर’, उपरथी सिग्देल रथी बढुवाका लागि सिफारिस

काठमाडौं । जंगी अड्डाले रथी बढुवाका लागि शीर्ष बरियताका अशोककुमार सिग्देलको नाम सिफारिस गरेको छ ।

सिफारिसपछि उमेर कीर्ते विवाद देखिएका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा मन्त्रिपरिषदबाट स्वीकृति भएसँगै नेपाली सेनाको रथी पदमा बढुवाका लागि वरिष्ठतम उपरथी सिग्देलको नाम सिफारिस गरेको हो।

रथी सिताराम खड्का नेतृत्वको बढुवा समितिले रिक्त एक रथी पदका लागि सिग्देलको नाम सिफारिस गरेको हो । बलाधिकृतरथी सरोजप्रताप राणाले अवकास पाएपछि सो ठाउँमा यसअघि पाण्डेको नाम सिफारिस भएको थियो ।

सिग्देलको बढुवा सिफारिसबारे उजुरीका लागि सात दिनको सूचना जारी गरेको छ । सूचना प्रकाशित गर्ने निकाय (श्री सैनिक सचिव विभाग) बाहेक अन्य निकायमा परेका निवेदन र बेनामे तथा पूर्ण विवरण (वास्तविक नामथर, ठेगाना र सम्पर्क नं.) बिनाका निवेदन उपर कुनै कारबाही नहुने समेत जंगी अड्डाले जनाएकोछ ।

यसबाट ७ दिनसम्म आधिकारिक रुपमा कुनै उजुरी नपरेको खण्डमा सिग्देल आगामी प्रधानसेनापतिको स्पष्ट लाइनमा हुनेछन् । उनको उमेरसम्बन्धमा पनि केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएर अख्तियारमा उजुरी परेको भनिए पनि त्यस कुरा सिग्देलको सिफारिसले गलत सावित गरिदिएको छ । यदि अख्तियारमा उजुरी परेको भए जंगी अड्डाले दोस्रोपटक आफू असफल हुने गरि कसैलाई पनि सिफारिस गर्ने थिएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *