युएईलाई पराजित गर्दै नेपाल विश्वकपमा



काठमाडाैं । नेपाल आगामी वर्ष हुने टी–२० विश्वकपका लागि छनोट भएको छ ।

राजधानीमा जारी आईसीसी टी–२० एसिया छनोट प्रतियोगिताको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको हो ।

नेपालका लागि आशिफ शेखको उत्कृष्ट अर्धशतकको मद्दतले नेपाल विजयी हुँदै विश्वकपका लागि छनोट भएको हो ।

युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा पूरा गर्दै विश्वकपमा प्रवेश गरेको हो ।

नेपालका लागि आशिफ शेखले ६३ रन बनाए भने कप्तान रोहित पौडेलले ३५ रन बनाएका थिए । त्यस्तै नेपालका लागि कुशल भुर्तेल ११ रनमा आउट हुँदा गुल्सन झाले २२ रन बनाए ।

त्यसअघि नेपालका लागि कुशल मल्लले ३ विकेट र सन्दीप लामिछानेले २ विकेट लिएपछि नेपालले युएईलाई २० ओभरमा १३४ रनमा रोकेको थियो ।

सन्दीपले चार ओभरमा एक मेडन राख्दै १४ रनमात्र खर्चिए । कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिए ।

यूएईले उत्कृष्ट सुरुवात गरेको थियो । सुरुका तीन ओभरमा विकेट नगुमाई २९ रन जोडेको यूएईले त्यसपछि एक रनको अन्तरमा दुवै ओपनरलाई गुमाएको थियो । त्यसपछि नेपाली स्पीनरहरुले यूएईका ब्याट्सम्यानहरुलाई लगातार दबाबमा राखेका थिए ।

समूहगत चरणका सबै खेल जितेर यूएई सेमिफाइनल पुगेको थियो । सुरुका दुई खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको नेपाल समूहको अन्तिम खेलमा भने बिहीबार ओमानसँग पराजित भएको थियो ।