सेनाका १२ जना मेजरको बढुवा, कस्ले कहाँ पाए जिम्मेवारी ?



काठमाडाैं । नेपाली सेनाका १२ जना सेनानी (मेजर) हरूको प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा बढुवा भएको छ। बढुवा भएसँगै ती लेफ्टिनेन्ट कर्णेलहरूको सरूवासमेत भएको छ ।

यस्तै यसअघिदेखि नै लेफ्टिनेन्ट कर्णेल रहेका १४ जनाको सरूवा गरिएको छ भने ४ जना लेफ्टिनेन्ट कर्णेललाई गण र २ जना सेनानी (मेजर) लाई गुल्मको कमाण्ड दिइएको छ।

सैनिक मुख्यालय जंगी अड्डाले असोज १५ गतेबाट लागू हुने गरी मेजरको लेफ्टिनेन्ट कर्णेलमा बढुवा-सरूवा तथा लेफ्टिनेन्ट कर्णेल रहेकाहरूको सरूवा साथै लेफ्टिनेन्ट कर्णेल र मेजरको कमाण्ड नियुक्ति गरेको हो।

बढुवा भई सरूवा भएका १२ लेफ्टिनेन्ट कर्णेलहरूमध्ये तेजेन्द्र मगर, गिरिराज गौतम र पृथबहादुर श्रेष्ठको नीति तथा योजना निर्देशनालय, झलक सुवेदीको नं. २७ बाहिनी अड्डा, वीरेन्द्रबहादुर सिंहको पूर्वी पृतना हेडक्वार्टर, सावित्री जीसीको शिकायत जाँच महाशाखामा सरूवा भएको छ।

यस्तै रामप्रसाद लामिछानेको निरीक्षण निर्देशनालय, बिनिश श्रेष्ठको नेपाली सैनिक वार कलेज, शिवनरायण श्रेष्ठको नं. १७ बाहिनी अड्डा, ध्रुव कार्कीको नं. ३ बाहिनी अड्डा, खिमबहादुर डाँगीको उत्तरपश्चिम पृतना हेडक्वार्टर र सरोज कार्कीको मध्यपूर्वी पृतना हेडक्वार्टरमा सरूवा भएको छ।

यसअघिदेखि नै लेफ्टिनेन्ट कर्णेल रही सरूवा भएका १४ जनामध्ये जितेन्द्रकुमार गौलीको गुणस्तर नियन्त्रण महाशाखा, ईश्वर बुढाथोकीको सैनिक कमाण्ड तथा स्टाफ कलेज, प्रकाश थापाको सैनिक इन्टिेलिजेन्स निर्देशनालय, प्रज्वल थापाको उत्तरपश्चिम पृतना हेडक्वार्टरमा सरूवा भएको छ।

त्यस्तै चन्द्रशेखर काप्रीको शिक्षाधिकृतका रूपमा इन्जियिनर तालिम शिक्षालय, शारदाभक्त माटांगुलु र उत्तम कटवालको सैनिक कल्याणकारी निर्देशनालय, इमेशमेहर श्रेष्ठको मध्यपूर्वी पृतना हेडक्वार्टर, निश्चल पाठकको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सरूवा भएको छ।

भगत तामाङको व्यवस्थापकका रूपमा सैनिक आवासीय महाविद्यालय बर्दिवास, मनबहादुर लामाको निरीक्षण निर्देशनालय, सौजन्यनरसिंह राणाको नं. २२ बाहिनी अड्डा, सोवितबहादुर चन्दको अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय र अनिल बस्नेतको शिक्षाधिकृतका रूपमा सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा सरूवा भएको छ।

यसैगरी लेफ्टिनेन्ट कर्णेलहरू प्राजु बस्न्यात अरिदमण गणको गणपति, विकास बानियाँ टु.मु. कोतखानाको डिपोपति, रवीन्द्र बुढाथोकी सिंहनाथ गण (कमाण्डो) को गणपति र विशेष पौडेल रणभीम गणको गणपतिमा नियुक्त भएका छन्।

त्यसैगरी मेजरहरू राजीवजंग ठकुरी श्रीदल गुल्म र विज्ञान विष्ट रामवाण गुल्मको गुल्मपतिमा नियुक्त भएका छन्।