

दूताबासको पहलमा अमेरिकामा जफत नेपाली कलाकृति फिर्ता पठाइयो

वासिङ्टन । अमेरिकास्थित नेपाली दूतावासले अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको एचएसआईबाट प्राप्त गरेका ४० वटा काठका कलाकृति नेपाल पठाएको छ ।
नेपालबाट गैरकानूनी रूपमा विभिन्न मितिमा निर्यात गरिएका कलाकृतिहरू अगस्ट २०१० मा अमेरिकी सरकारको सीबीपीले हवाईमा जफत गरेको थियो। नेपाल सरकारले सन् २०११ मा यी कलाकृतिहरु नेपाललाई फिर्ता गर्न अमेरिकी सरकारलाई आधिकारिक रूपमा अनुरोध गरेको थियो। त्यसको झण्डै १२ बर्षपछि यी कलाकृतिहरु नेपाल फिर्ता पठाइएको छ ।
नेपाली दूतावासले २०२३ मे ११ मा दूतावासमा आयोजित एक समारोहमा एचएसआईबाट यी कलाकृतिहरू प्राप्त गरेको थियो। हस्तान्तरण समारोहमा ४० मध्ये चारवटा कलाकृतिहरु प्रदर्शनको लागि चयन गरिएको थियो। नेपाल पठाउनु अघि दूतावासले २०२३ अगस्ट १ मा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रममा यी कलाकृतिहरू पुनः प्रदर्शन गरेको थियो।
क्यालिफोर्नियाका अबैतनिक महावाणिज्यदूत ऋषि ढकालको पहलमा कतार एयरवेज कार्गोले यी कलाकृतिहरूलाई वाशिंगटन डीसीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ढुवानी गर्न स्पोन्सर गरेको थियो।